file photo

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई दुई सय पाँच रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायो । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद सोपरले ३५, टोनी उराले २७ र लेगा सियाकाले २५ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए । यस्तै आजको खेलमा ज्ञानेन्द्र मल्लले पहिलो एकदिवसीय विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका उनले ६ रन दिएर एक विकेट लिए । शृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रवार यूएईसँग, तेस्रो खेल आउँदो ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ । विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्कसहित नेपाल छैठौँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।