मकवानपुर – मकवानपुर प्रहरीले भन्सार छलिगरी ल्याएको एक लाख भन्दा बढी मुल्य बराबरको अबैध कपडासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग स्थित हेटौंडा–१० बाट एकलाख पाँच हजार सातसय मुल्य बराबरको अबैध कपडासहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले पुर्व पश्चिम राजमार्ग स्थित सडक किनारमा शंकास्पद रुपमा बसेका पर्सा जिल्ला बीरगंज महानगरपालिका–३ का १९ वर्षिय तवकिर जोगी र वडा नम्बर २ का १८ वर्षिय निराज आलमले ल्याएको झोला चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली ल्याएको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो । उनिहरुको साथबाट कुर्ता सुरुवाल, सुरुवालको थानको कपडा, टावेललगायतका करीब एक लाख पाँचहजार सात सय रुपैयाँ बराबरको कपडा बरामद भएको उहाँले बताउनुभयो । पक्राउ परेका दुबैजनालाई आवश्यक कारवाहिको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको सापकोटाले जानकारी दिनुभयो ।