काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज भएको आमसभा नेकपा ओली समुहको एउटा कास्टिङ मात्र भएको बताउनुभएको छ । शुक्रबार दरबारमार्गमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समुहलाई लक्षित गर्दै दुइचार हजार मान्छे जम्मा गरेर धम्याउन, तर्साउन खोजेको भन्दै आजको सभामा उपस्थित जनमास एउटा उदहरण मात्र रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यस्तै अर्को कार्यक्रम (आमसभा) काठमाडौँ बाहिर पनि हुने बताउनुभएको छ । लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने घोषणा गर्दै उहाँले फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने बताउनुभयो । ‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौँ,’ फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु।’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको दाबी गर्नुभएको छ । उहाँले देश बनाउन अब कसैले रोक्न नसक्ने पनि बताउनुभएको छ । हिंसा भड्काउन खोज्ने र उत्ताउला प्रयासलाई रोक्न शान्ति सुरक्षाका काममा खटेको भन्दै प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीलाई धन्यबादसमेत दिनुभयो ।