मकवानपुर – मकवानपुरका महिला पत्रकारहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरिएको छ । सञ्चारिका समूह नेपाल मकवानपुरले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलवारबाट निःशुल्क सेनेटरी प्याड वितरण शुभारम्भ गरेको हो ।
मङ्गलवार पत्रकार महिलाहरूबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरिएको सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले जानकारी दिनुभयो । महिनावारीको समयमा महिला पत्रकारहरूलाई समाचार सङ्कलनमा असहज नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो ।