काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले ‘‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएपछि सांसदहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौता सम्बन्धी सबै दस्ताबेज सदनलाई उपलब्ध गराउनुपर्ने भन्नुहुँदै त्यो सम्झौता सांसदले अध्ययन गरेर मात्र छलफल हुनुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका सांसद खनालले सडकमा देशको स्वाधीनताको पक्षमा देशभक्त नागरिकहरू चिन्तित हुँदै आन्दोलन गरिरहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी परियोजना एमसीसी विशुद्ध आर्थिक परियोजना भए मात्र अगाडि बढाउन माग गर्दै सत्ता गठबन्धन दलबीच भएको एमसीसी सम्बन्धी व्याख्यात्मक सम्झौताबारे जवाफ दिन माग गर्नुभयो । नेकपा एमाले सांसद भिम रावलले एमसीसी सम्झौता देशको हित विपरीत रहेको भन्नुहुँदै संसद्ले यसलाई अस्वीकार गर्नुपर्ने माग गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८” पेस गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।