मकवानपुर– नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन समिति मकवानपुरले जिल्लाका विभिन्न स्थानीय तहहरुमा भएको नदिजन्य पदार्थको उत्खनन् बन्द गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बिहीबार बिहान बसेको समितिको बैठकले विपाद व्यवस्थापन समितिवाट निर्णय भए अनुसार तोकिएको विपदजोखिम क्षेत्रको नदिजन्य पदार्थ व्यवस्थापन भईसकेकाले बिहीबारबाटै उत्खनन् बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले जिल्ला विपद व्यवस्थापन समिति मार्फत विपद जोखिमयुक्त क्षेत्रमा चैत्र मसान्त भित्र प्राकृतिक स्रोत व्यवस्थापन गर्न अनुमति दिएकोमा उक्त क्षेत्रमा तोकिएको परिणामको नदिजन्य पदार्थ निकालेर व्यवस्थापनको कार्य सम्पन्न भईसकेकाले खोला नदीमा मेसीनको प्रयोग बन्द गर्ने निर्णय गरेको समितिका संयोजक खुलालले जानकारी दिनुभयो तर केही स्थानहरुमा वोल्डरहरु तहलगाउन पर्ने देखिएको हुँदा बिहीबार सम्म सोको व्यवस्थापनका लागि अनुमति दिईएको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले मनहरी गाउँपालिकाको लोथर खोला र हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका विचको सुपारेटार व्यारेक र सामारी पुलमा जोखिम देखिएको साथै ईन्द्रसरोवर तालमा समेत विपदको जोखिम रहेकाले आगामी विपद व्यवस्थापन समितिको निर्णय मार्फत व्यवस्थापन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले आईई भएको तर तोकिएको क्षेत्रमा तोकिएको परिणामको नदिजन्य पदार्थ निकाल्न नसकिएको चुरे क्षेत्र, कुखरेनी, राप्तीखोलामा आईई पुनर्मुल्याङ्कन गरी उत्खनन गर्न सम्बन्धीत पालिकाले पर्सा राष्ट्रीय निकुञ्ज, राष्ट्रपति चुरे संरक्षण समितिसंग आवश्यक समन्वयमा विधि सम्मत तरीकावाट उत्खननको लागि पहल गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले राप्ती पुल तल र माथी भैरहेको संरक्षणका कार्य निरन्तर निगरानी गर्न हेटौंडा उपमहानगरपालिकाकलाई निर्देशन गर्ने, उत्खनन् भएका प्राकृतिक स्रोतहरुको स्टक प्रमाणित गरी विवरण सुरक्षित राख्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायत समितिका सदस्यहरुको उपस्थिती थियो ।