सरकारले दैनिक आधारभूत सेवा प्रवाह गरी जनजीवन सहज बनाउने उद्देश्यले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को यही जेठ २२ र २८ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा सावधानी पालना गर्नेगरी केही सेवा तथा कार्यालयहरु सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
प्रवक्ता डा खतिवडाले स्वास्थ्य सेवासंग सबै सेवाहरु, कृषि र पशुपन्छी संग सम्वन्धित व्यवसायको उत्पादन देखि विक्रि वितरण सम्मका सबै गतिविधिहरु उद्योग व्यापार व्यवसाय पसल लगायतका सेवाहरु सुचारु गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद बैठकले नर्सरी र वनजन्य उद्यम, सरकारी तथा निजी क्षेत्रबाट प्रवद्र्धित विकास आयोजना तथा निर्माण कार्यहरु, प्याकिङ् तथा टेक अवे सेवा मात्र लागु हुनेगरी रेष्टुरेन्टहरु, क्वारेन्टिन सेवाका लागि होटल तथा सवारी साधनहरु पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले असार १ गतेदेखी लागु हुनेगरी सरकारी कार्यालयहरु, शिक्षण संस्थाको प्रशासनिक काम, गैह्रसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु संञ्चालन गर्ने निर्णय गरेको छ । असार १ गते देखि सञ्चालनमा आउने सबै प्रकारका कार्यालयहरु विहान ८ देखि दिउँसो १ बजे सम्म र दिउँसो १ बजे देखि साँझ ६ बजे सम्म गरी २ सिप्टमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी बैठकले असार १ गते देखि मात्रै लागु हुने गरी नदी तथा खानीजन्य पदार्थ उत्खनन् संकलन ढुवानी र बिक्रीवितरण, सार्वजनिक तथा निजी क्षेत्रका कार्यालयका कर्मचारी तथा श्रमिक ओसारपसार गर्ने सवारी साधन समेत जोर–विजोर प्रणाली अनुसार सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । बैठकले अत्यावश्यक सेवा भित्र नपर्ने र मानिसको भिडभाड बढि हुने शैक्षिक सस्थाहरु, अनुमति प्राप्त बहेकका आन्तरिक तथा बाह्य उडान, तोकिएको बहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सभा, गोष्ठी, सेमिनार लगायतका सेवाभने तत्कालका लागि बन्द नै रहने निर्णय गरेको सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो ।