मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका स्थित ऐतिहासिक चिसापानीगढी पुनर्निर्माणमा नेपाली सेनाले चासो दिएको छ । भीमफेदी गाउँपालिका–६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणमा सेनाले चाँसो दिएको हो ।

यसैक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र प्रधान सेनापति प्रभुराम शर्माबीच कार्य प्रगति लगायत विषयमा छलफल भएको छ । शुक्रबार नेपाली सेनाको मुख्यालयमा भएको भेटवार्तामा सो विषयमा छलफल भएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको काम अहिले चलिरहेको छ । कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेर निर्माणको काम अगाडी बढाईएको छ ।

चालु आर्थिक बर्षमा बास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानीगढी क्षेत्रको करिब ४ बिगाह क्षेत्रफलमा कम्पाउण्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनःनिर्माण तथा संरक्षण र सरसफाइको काम सम्पन्न गरिने र २ बर्ष भित्रमा अन्य निर्माण तथा संरक्षणका कामहरु सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको छ । ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको गत कार्तिक १७ गते प्रधानसेनापती प्रभुराम शर्माले शिलान्यास गर्नुभएर काम अगाढी बढाईएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब २९ किलोमिटर उत्तरमा पर्ने चिसापानी गढी मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीभन्दा केहीमाथि र देउराली डाँडाको मुनि अवस्थित छ । नेपाल एकीकरण, अंग्रेजहरुको उपनिवेश विरुद्धको युद्धहरूमा प्रयोग हुँदै आएको सो गढी पछि काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा प्रयोग हुँदै आएको थियो । विगतमा भारतबाट नेपाल प्रवेशको मुख्य नाकाको रुपमा सो गढी प्रयोग हुँदा अध्यागमन, नेपाल–भारतको व्यापारिक केन्द्रको रुपमा प्रयोग भएको थियो । २०१८ सालपछि भने सो गढी ओझेलमा परेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।
लामाका अनुसार चिसापानी गढी प्राकृतिक वातावरणले पनि रमणीय रहेको छ । ऐतिहासिक बडा हाकिमको भवन, पुरानो भीमफेदी कारागार, वटुक भैरवको मन्दिर चिसापानी गढीको मुख्य आकर्षणको केन्द्र हो । सो गढीको अर्को विशेषता भनेको त्यहाँ रहेका तोप हुन् । देशकै चर्चित ३ वटा तोपमध्ये २ वटा तोप अझै पनि उक्त गढी क्षेत्रमा रहेको छ । त्यस बेला युद्धमा प्रयोग भएको देशकै चर्चित काली तोप, लाली तोप र आकाशे तोप मध्ये लाली तोप गोरखा दरबारमा राखिएको छ भने काली र आकाशे तोप चिसापानी गढीभित्रै छन् ।
उक्त गढीमा आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म मारक क्षमता रहेको काली तोप, यत्रतत्र छरिएर रहेका कार्तुस तथा गोलाले अवलोकनकर्तालाई तत्कालीन समयको परिकल्पना गराउन मद्दत पु¥याउने गर्दछ । चिसापानी गढी किल्लाको निर्माण वैज्ञानिक आधारमा भएको छ । किल्लाभित्रबाट पानी र थप हतियार ल्याउन सुरुङ तयार गरिएको छ । सुरुङमा भ¥याङ खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ ।