मकवानपुर- भीमफेदी गाउँपालिकास्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिनमा लाग्ने मेलाको तयारी सुरु भएको छ । यसवर्ष कात्तिक २२ गते शुक्रबारको दिनमा लाग्ने मेलाको तयारी सुरु भएको र त्यसलाई थप व्यवस्थित बनाउन त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता समिति समेत निर्माण गरिएको छ । समितिमा अध्यक्ष रमेशकुमार थिङ, सचिव लक्ष्मी गोले, कोषाध्यक्ष सुपेन्द्र लामा तथा सदस्यहरुमा रोहित गोले, निलम लामा, रविन कार्की तथा सेवक लक्ष्मण दाहाल रहेका छन् ।
समितिले मन्दिरको सरसफाइ, रंगरोगन, अस्थायी पुल निर्माण तथा मेलामा राखिने स्टलहरुलाई व्यवस्थित बनाउने काम गर्नेछ । मेलाको दिनमा हेटौंडा बजारमा माछामासु विक्रीवितरण रोक लगाउन समेत आग्रह गरिएको छ । ‘हाम्रो परम्परा र संस्कृतिलाई मनाउने क्रममा प्रत्येक वर्ष हेटौंडा बजारमा माछामासु विक्रीवितरण रोक लगाउन गरिएको छ । यहाँका माछामासु व्यवसायीले प्रत्येक वर्ष हामीलाई सहयोग गर्ने गरेका छन् ।’,
मन्दिरका सेवक लक्ष्मण दाहालका अनुसार मेलामा होहल्ला, मानवीय दुर्घटना रोक्नका लागि मदिरा रोक लगाइने निर्णय समिति समितिले गरेको छ । ‘यस विषयमा हामी स्थानीय प्रशासनलाई समेत जानकारी गराउनेछौं ।’, सेवक दाहालले भने । मेलाका लागि मन्दिरमा रंगरोग गर्ने काम सकिएको छ भने खोला पारीको मन्दिर जाने पुल तीब्ररुपमा निर्माण भइरहेको छ । मेला मकवानपुर जिल्लाकै सवैभन्दा पुरानोमध्ये हो । प्रत्येक वर्षमा मेला भर्न आउनेको त्यसक्षेत्रमा भीड लाग्ने गरेको छ । ‘भीड व्यवस्थापनका लागि स्थानीय प्रहरीसँग हाम्रो सहकार्य हुनेछ । सवारीलाई व्यवस्थित गर्नका लागि ट्राफिकलाई अनुरोध गर्नेछौं ।’, उनले भने ।