हेटौँडा – उच्च अदालत पाटन हेटौंडा इजलासले जिल्ला आयुर्वेद औषधालय मकवानपुरका अध्यक्ष मधु बजगाई क्षेत्रीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । उच्च अदालत पाटन, हेटौंडा ईजलासकी न्यायधिश मेरीना श्रेष्ठको इजलासले बागमती प्रदेशको स्वास्थ्य मन्त्रीस्तरको गत माघ १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
बागमती प्रदेशका स्वाथ्यमन्त्री स्तरको गत माघ १८ गतेको निर्णयबाट प्रदेशभरका जिल्ला आर्युवेद अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरुलाई हटाउने निर्णय भएको थियो । मन्त्रालयले आर्युबेद अस्पतालको अध्यक्षमा सुदीप बतौलालाई नियुक्त समेत गरेको थियो । दुबै निर्णय हाललाई कार्यान्वयन नगर्न अदालतले अल्पकालिन आदेश जारी गरेको हो । अदालतको आदेश संगै तत्कालका लागि अध्यक्ष बजगाईलाई पदमा रहेर काम गर्ने बाटो खुलेको छ भने बतौलालाई पदमा रहेर काम गर्ने तत्कालको बाटो बन्द भएको छ । अदालतले रिट निबेदक बजगाई र बिपक्षिहरु सबैलाइ फागुन ११ गते छलफलका लागि उपस्थित हुनका आदेश गरेको छ ।
निबेदकका तर्फबाट अधिबक्ताहरु मदनकुमार दाहाल, धुर्व प्रसाद चौलागाई, मनप्रसाद भटराइ, प्रमिला केसी, ऋसी केबी, शिबप्रसाद बन्जराले बहस गर्नुभएको थियो । तत्कालिन एमाले सरकारले नियुक्त गरेका पदाधिकारीहरु हटाउने र आफ्नालाई नियुक्त गर्ने प्रदेश सरकारको पहिलो निर्णयमानै धक्का लागेको छ । तत्कालिन सरकारले गरेका नियुक्तीलाई खारेज गर्दै प्रदेशमा गठवन्धनको सरकारले आफ्नालाई नियुक्त गर्ने योजना अनुसार हटाउने र नियुक्त गर्ने काम सुरु गरिसकेको थियो ।