हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गत पुस २३–२४ गते हेटौँडामा सम्पन्न ११ औँ जिल्ला अधिवेशनमा विजयी जिल्ला सदस्यहरुको आज सपथग्रहण भएको छ । कोभिड–१९ संक्रमणको कारण रोकिएको सपथ ग्रहण करिब डेढ महिना पछि सोमबार (आज) भएको हो ।
११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव (दुई) सहित १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विराेध चयन भएकाे थियो । जिल्ला पार्टीको कामलाई सहज बनाउन यसअघि पदाधिकारी सहित अधिवेशनमा पदाधिकारीबाट आफ्नो उम्मेद्वारी फिर्ता लिएकाहरुको सपथग्रहण भने गत माघ ११ गते गरिएको थियो । बाँकी निर्वाचित सदस्यहरुलाई आज एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले सपथग्रहण गराउनुभएको हो ।
सपथग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एव्म मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, भारती पाठक, एमाले पूर्व केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, रामचन्द्र राई, रघुनाथ खुलाल, एकराज उप्रेती, बलराम बल, अणराज जर्गामगर, कमल विष्ठ, पद्मा पौडेल, भगवती पुडासैनी लगाएतको आतिथ्यता रहेको थियो । यसैबीच सपथग्रहणपछि आजै बसेको एमाले मकवानपुरको पहिलो जिल्ला कमिटी बैठकले जिल्ला कमिटीमा सदस्यहरु मनोनित गर्ने निर्णय गरेको छ । यस्तै बैठकले आफ्ना पार्टीका गतिबिधिहरुलाई जिल्लाका दश वटै स्थानीय तह, प्रत्यक वडासंगै टोलटोलमा पु¥याउने निर्णय गरेको छ ।