काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिले प्रभावकारी कार्य सम्पादन गरेको दाबी गर्नुभएको छ । नेकपा एमालेद्वारा आज आयोजित स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पर्याप्त संरचना नभएको अवस्थामा पनि जनप्रतिनिधिले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गर्दै पार्टीबाट अलग्गिएर गएकाहरू सँग एकता नहुने बताउनुभयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा कहीँ कतै तालमेल भए पनि राष्ट्रिय स्तरमा एमाले एक्लै चुनावमा होमिने बताउनुभयो । अध्यक्ष ओलीले एमालेले संसदमा सहज ढङ्गले सहभागी हुन चाहेको भन्दै त्यसका लागि उचित वातावरण निमार्ण गर्न सरकार सँग आग्रह गरिरहेको उल्लेख गर्नुभयो ।










