भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्ने भएको छ । साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने खेल राति ७:४५ बजेबाट सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता ।
त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । पहिलो खेल नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।
समूह ए मा रहेको नेपाल अङ्क विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन । भारत ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।
नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।