मकवानपुर – बागमती प्रदेशका ११९ वटै स्थानीय तहमा आजबाट भेडा ब्राखामा देखा परेको हैजा अर्थात पिपिआर रोग रोकथामका लागि निशुल्क खोप अभियान सञ्चालन हुँदैछ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तह मार्फत एक हप्ते खोप अभियान सुरु गरेको हो ।
प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक डाक्टर राम प्रकाश प्रधानले आगामी फागुन २ गते सम्म सञ्चालन हुने अभियान नेपालमै पहिलो पटक बागमती प्रदेश पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ । उहाँले प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको जानकारी दिनु भएको छ । पहिलो चरणमा १ करोड १९ लाख रुपयाँ बराबरको ११ लाख ९० हजार खोप मात्रा आएको बताउनु हुँदै उहाँले पहिलो चरणमा नपुगेको खोपको मात्रा दोस्रो चरणमा माग गरि ल्याईने समेत बताउनुभयो । भेडा ब्राखामा देखापरेको हैजा अर्थात पिपिआर रोग बिरुद्धको खोप ३ महिना माथिका भेडा तथा बाख्रालाई लगाउन मिल्ने तथा एक पटक लगाएको खोपले ३ बर्ष सम्म काम गर्ने समेत डाक्टर प्रधानले जानकारी दिनुभयो । पिपिआर भेडा बाख्रामा लाग्ने अति घातक सङ्क्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति भनेकै खोप हो । यो रोग लागिसकेपछि भेडा बाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने गर्दछन् ।