मकवानपुर – मकवानपुरमा कोरोना बिरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा कुल जनसंख्याको ६२ प्रतिशत बढीले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार जिल्लामा १२ वर्षमाथिका कुल ३ लाख ५० हजार चार सय जनाले खोप लगाउनुपर्ने तथ्यांक रहेको छ । जुन २०७८ सालको जनसंख्याको ७६ प्रतिशत हो । जसमध्ये २ लाख १७ हजार २१२ जना अर्थात ६२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यसैगरी खोपको पहिलो मात्र लगाउनेको सख्या २ लाख ९० हजार ४१२ जना अर्थात ८३ प्रतिशत र बुस्टर डोज लगाउनेको संख्या ४ हजार ५३६ पुगेको उहाँले बताउनुभयो । जिल्लामा पछिल्लो समय सञ्चालित खोप अभियान प्रभावकारी रुपमा अगाडी बढेको उहाँले बताउनुभयो । पछील्लो समय कोरोना संक्रमण फेरी फैलन थालेसंगै कोरोना भाइरस बिरुद्धको खोप लगाउनेहरु पनि बढ्दै गएको साथै सरकारले खोप कार्ड अनिवार्य गरेका कारण पनि खोप लगाउनेको संख्या बढेको उहाँले बताउनुभयो ।
शुक्रबार ८१ जनामा संक्रमण पुष्टि, २४६ जना निको
मकवानपुरमा (शुक्रबार) आज थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १०१ जनामा पिसिआर र १०६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४१ जना र ४० जना गरि थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
आज पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरपालिकाका ५९ जना, थाहा नगरपालिकाका ९ जना, मनहरी गाउँपालिकाका १० जना, भीमफेदी गाउँपालिकाका २ जना र राक्सिराङका एक जना रहेका छन् । योसंगै जिल्लामा हाल सकृय संक्रमितको संख्या १ हजार १७ रहेका छन् । जसमध्ये १ हजार सात जना होम आइसोलेसनमा र १० जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै जिल्लामा आज थप थप २४६ जना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसन उपचाररत २४० जना र संस्थागत आइसोलेसनमा उपचाररत ६ जना संक्रमणुक्त भएको कार्यालयले जनाएको छ । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६४ जना, मनहरी गाउँपालिकाका ३८ जना, थाहा नगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका १४ जना र बकैया गाउँपालिकाका १० जना रहेका छन् ।