काठमाडौँ – नेपालमा फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला पश्चिम नेपालबाट फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आङ्कलन गरिएको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार यो प्रणालीका कारण साेमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने छ । ‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपात वाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।