मकवानपुर – मकवानपुरको थाहा नगरपालिकाद्धारा आयोजित तेस्रो थाहा गोल्डकपको उपाधि अंगारा फुटबल क्लबले जितेको छ । मकवानपुरको उत्तरीक्षेत्र स्थित थाहा नगरपालिका स्थित इन्द्रायणी खेल मैदानमा बुधबार भएको फाइनलमा बारा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै अंगाराले उपाधि कब्जार गरेको हो ।
अंगाराका लागि खेलको अन्तिम समयमा सुशान्त कार्कीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उपाधिसागै अंगारा फुटबल क्लबले एक लाख रुपैयाँ र उपविजेता बारा–११ ले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । २६ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी अंगाराका जंगे धामी घोािष्त भए भने, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डर पनि क्रमश अंगाराका किसन गुरुङ र विश्वास थापा घोषित भएका थिए । यस्तै उत्कृष्ट मिडफिल्डर बारा–११ का ओम चौधरी, सवैभन्दा बढी गोलकर्ता डाँडाबास एफसीका विशाल स्याङ्तान घोषित भएका थिए । उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको अध्यक्षता तथा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको पनि उपस्थिति रहेको थियो ।