मकवानपुर – मकवानपुरमा आजबाट कोरोना संक्रमण नियन्त्रणका लागि अनिवार्य मास्क अभियान अन्तरगत मास्क वितरण अभियान सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्यले आजबाट जिल्लाका सार्वजानिक तथा यातायात स्थलहरुमा माक्स प्रयोग अभियान सुरु गरिइएको हो ।
पुरानो नारायणी यातायात कम्पनी प्रालि मकवानपुरले कोभिड ओमीक्रोन भेरियन्टबाट बच्न र बचाउनका लागि सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियानलाई सुरु गरेको छ । मास्क वितरण अभियानको प्रजिअ भरतमणि पाण्डेसहितको टोलीले सुरुवात गर्नुभएको थियो । प्रजिअ पाण्डेले हेटौंडा— १० स्थित बसपार्कमा रहेका पसल तथा बसका यात्रुहरुलाई माक्स वितरण गर्नुहुँदै माक्स अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभएको छ । भीडभाडका कारण कोभिड संक्रमणका जोखिम बढ्ने हुनाले माक्स वितरण अभियानलाई तिव्रता दिइएको उहाले बताउनुभयो । यस्तै जिल्लाभित्र खोपको दायरा बढाइ सार्वजनिक स्थलहरुमा आवातजवात गरिने सर्वसाधारणका लागि अनिवार्य खोप कार्ड प्रयोगको तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
कोभिड ओमिक्रोन भेरियन्ट संक्रमणबाट बचौं र बचाऔं, सामाजिक दुरु कायम गरौं, अनावश्यक भेटघाट नगरौं, पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजर लगाउने नाराहरुका पर्चाहरु बाँडिएका छन् । यसैगरी एकता र सहकार्य नै बल हो, शक्ति हो, मानव जगतमा आएको कोभिड विरुद्ध एकताबद्ध बनौं, एकता र सहकार्यबाट कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सचेतनासहित पर्चा तथा मास्क वितरण गरिइएको थियो । अभियानमा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, सामुदायिक प्रहरी उपकेन्द्र मकवापुरका अध्यक्ष प्रदिप कडेँल, यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो । चेतनामूलक पर्चा र मास्क वितरण अभियानलाई मकवानपुरका ९ वटा स्थलहरुमा सन्चालन गरिने जनाईएको छ ।