मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित मानव सेवा आश्रम रहेको स्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने तयारी भएको छ । कुख्रेनी सामुदायिक वनको हातामा अवस्थित मानव सेवाश्रम सहित बाँकी अन्य वनको जग्गामा धार्मिक पर्यटन स्थलको स्पमा विकास गर्ने गरि गुरु योजना तयार पारिएको छ । सामुदायिक वनको संरचना नमासिने गरि धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्ने गरि गुरु योजना तयार पारिएको हो ।
सोमबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको बिषेश साधारण सभाका अवसरमा उक्त गुरु योजना सार्वजनीक गरिएको छ । पहिलो चरणमा तयार पारिएको गुरु योजना सोमबार सामुदायिक वनको विषेश साधारणसभाको अवसरमा सार्वजनीक गरिएको हो । मानव सेवा आश्रम सहित वरीपरिको जग्गामा मन्दिर, साईकल ट्रयाक, विश्राम स्थल, खेलकुद चौर, भ्युटावर, योग स्थललगायतका संरचना तयार पार्ने गरि गुरु योजना बनाईएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्न सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले मानव सेवा आश्रमसंगै यस क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलको स्पमा विकास गर्न सके यसको महत्व अझै बढ्ने धारणा राख्नुभयो । प्रमुख खुलालले कुनै पनि कार्य सम्पन्न गर्न सबै लाग्नु पर्ने र सकारात्मक सोचले मात्र सम्भव हुने बताउनुभयो । उहाँले समाजको विकास पनि सकारात्मक ढंगले अगाडी बढ्न सकेमात्र सम्भव रहेको बताउनुभएको छ । सकारात्मक बनेर मानविय स्मारकलाई पर्यटकिय स्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले पर्यटकिय स्थलको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता सकेत व्यक्त गर्नुभयो । सामुदायिक वनका अध्यक्ष होमनाथ मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा सदस्य सुकराम केसी, मानव सेवा आश्रमका केन्दीय अध्यक्ष रामजी अधिकारीलगायत सामुदायिक वनका पदाधिकारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।