मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ५१ औं बोर्ड बैठक सोमबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।
सोमबार बसेको बैठकले जिल्ला समन्वय समितिको सभाहल बनाउने लगायतका विभिन्न निर्णय गरेको छ । जिल्ला समन्वय समितिका विभन्न कार्यक्रम बाहिर होटलमा संचालन गर्दा खर्च बढी लाग्ने तथा जिसससँग आम्दानीको स्रोत नहुँदा समस्या हुने भन्दै जिसससँग रहेको मौजदात कोषको रकमबाट सभाहल निर्माण गर्ने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । सभाहल अहिले जिसस रहकै भवनको माथिल्लो तल्लामा निर्माण गर्ने निर्णय गरेको छ । साथै बैठकले जिसस कार्यालयलाई व्यवस्थित पार्किङ निर्माण लगायतका काम गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सोमबारकै बैठकले मौजदात कोषको रकमबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को प्रशासनीक भवन निर्माणकालागि अनुदान प्रदान गर्ने निर्णय गरेको छ । मौजदात कोषबाट प्रशासनीक भवन निर्माणमा लाग्ने खर्चको ६० प्रतिशत व्योहोर्ने भनि कार्यविधिमा उल्लेख भए अनुसार प्रकृया पुरा गरेर रकम उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । साथै बैठकले मौजदात कोषबाट विभिन्न स्थानीय तहहरुमा उपलब्ध गराईएका रकमहरुको आर्थिक तथा भौतिक प्रगतिको विवरण माग गर्ने निर्णय समेत भएको प्रमुख खुलालले जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले जिसससँग मौजदात रहेका विभिन्न अफिस संचालन सम्बन्धी सामग्री (दराज, कुर्सी, कम्प्युटर) लगायतका सामग्री स्थानीय तहबाट माग भए बमोजिम उपलब्ध गराईएकोमा आजको बैठकले अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो । जिससले आफुसँग रहेका अफिस संचालन सम्बन्धी सामग्रीहरु स्थानीय तहलाई आवश्यक्ता र माग अनुसार हस्तान्तरण गर्ने गरेको छ । बैठकमा उपप्रमुख भगवती पुडासैनी, जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।