काठमाडौँ – सत्तारुढ गठबन्धन दलहरूले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो ।
कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ । कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । आजकाे बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थगित थियाे ।