काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाउनुभएको सर्वदलीय बैठकले संसद्को गतिरोध अन्त्यका लागि वार्ता र संवादमा आउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएपछि वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको आवाज बोल्नुपर्ने संसद्लाई कसैले पनि लामो समय बन्धक बनाउन नहुने बैठकले निष्कर्ष निकाल्दै संवादमा आउन एमालेलाई आग्रह गरिएको बताउनुभयो । बैठकमा एमसिसि संसदबाट पारित गर्ने विषयमा समेत छलफल भए पनि दलहरूबिच सहमति जुट्न सकेन । एमसिसिका कतिपय विषयहरूमा केही दलहरूको असहमति रहेका कारण थप छलफल गरेर अगाडि बढ्नुपर्नेमा बैठकले निष्कर्ष निकालेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बैठकमा दलहरूबिच साझा धारणा बनाएर मात्रै एमसिसि अगाडि बढाउनुपर्ने दलहरूको धारणा आएको र आफूले संसद् गतिरोधका सम्बन्धमा कि त संसद् स्थगित नै गर्नुपर्ने कि त सुचारु रूपले सञ्चालन गर्नुपर्ने धारणा राखेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेक संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूको सहभागिता रहेको थियो ।