मकवानपुर – बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको सिफारिसमा नियुक्त हुनुभएका मन्त्रीहरूलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

प्रदेशमा गठबन्धनको सरकार गठन भएसँगै आज मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीबाट २ जना मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल हुनुहुन्छ । भने एकीकृत समाजवादीबाट खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङलाई जिम्मेवारी दिनुभएको छ ।

यो सँगै बागमतीमा मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ । बागमती प्रदेशमा हाल ५ जना मन्त्री छन् । ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएसँगै मन्त्री नियुक्त गरिएको हो । नेपाली काँग्रेसले भने महाधिवेशनका कारण मन्त्री बन्नेको सूचि उपलब्ध गराएको छैन । यसअघि पहिलो चरणमा काँग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री बन्नु भएको थियो । दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र काँग्रेस सांसद निमा लामा स्वास्थ्य मन्त्रीमा नियुक्त हुनु भएको थियो ।