काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)ले १–१ गोलको बराबरी खेलेका छन् । ४३ औँ मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । तर ७८ औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए । उनले मैदान प्रवेश गरेर खुट्टामा आएको पहिलो बललाई नै गोलमा परिणत गर्न सफल भए । बराबरीसँगै च्यासलको चार अङ्क भएको छ । एनआरटीको दुई अङ्क पुगेको छ । च्यासल र एनआरटीको खेल तनावपूर्ण बनेको थियो । पटक–पटक दुवै टोलीका खेलाडीले एक आपसमा झगडा गरेका थिए । यसअघि आज भएको पहिलो खेलमा संकटा क्लब मनाङ मर्स्याङ्दी क्लबले २–२ गोलको बराबरी खेलेका थिए । हारतर्फ गएको मनाङको लागि इन्जुरी समयको अन्तिम मिनेटमा फ्रान्कलिन क्वेटाले गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकियो । बराबरीपछि मनाङ सात अंकसहित दोस्रो स्थानमा यथावत छ । मनाङ र सातदोबाटोको समान ७/७ अंक रहे पनि गोल अन्तरका आधारमा सातदोबाटो शीर्ष स्थानमा छ । संकटा भने पाँच अंकसहित तेस्रो स्थानमा पुगेको छ ।