चितवन – नेकपा एमालेको १०औं महाधिवेशनबाट पदाधिकारीमा केपी शर्मा ओलीकै टिम निर्वाचित हुनुभएको छ । शनिबारको बन्दसत्रबाट प्राप्त अधिकार अनुसार आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्तुत गरेको सूची अनुसारकै पदाधिकारीहरु मंगलबार निर्वाचित हुनुभएको हो ।
ओलीले अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गर्नु भएको थियो । त्यस्तै, महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्‌मा अर्याललाई प्रस्ताव गर्नुभएको थियो । तर, ओलीको सूचीलाई चुनौति दिँदै अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिनु भएको थियो । त्यस्तै सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिनु भएको थियो । उहाँहरु सबै पराजित हुनु भएको छ । मतगणनाको आधिकारिक र अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ।