चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय १३ मत ल्याउनुभएको हो ।
अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराउनुभएको हो । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताउनुभयो । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जित्नुभएको थियो ।
यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको हो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । महाधिवेशनको बन्द सत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्द सत्रमा नामावली प्रस्तुत गर्दा धेरैले सहमति जनाएकामा रावल, भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।