काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा(१ ) बमोजिम आज नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
त्यस्तै, प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभयो ।
समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनः, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।