मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माणमा सबैको साथ सहयोग र योगदान आवश्यक हुने बताउनुभएको छ । आईतबार सामुदायिक सेवा केन्द्र, मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर एवम् ईलाका प्रहरी कार्यालय पशुपतिनगरद्धारा संयुक्त रुपमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले सबैको सहयोगमा शान्ति सुरक्षा कायम गर्न तथा सुव्यवस्थित समाज निर्माण गर्न सकिने बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख खुलालले समाजमा नकारात्मक्ता बढ्दै गएको अहिलेको परिस्थितीमा समाजलाई सकारात्मक बनाउन जरुरी रहेको भन्दै सकारात्मक समाज निर्माणमा सबैलाई योगदान हुनुपर्ने बताउनुभयो । उहाँले सकारात्मक समाज भएमा सुव्यवस्थित समाज निर्माण हुने हुँदा त्यस तर्फ लाग्न सबैलाई सुझाव दिनुभयो । उहाँले प्रहरीले मात्र सबै कुरा सम्भव नभएको हुँदा समुदाय र प्रहरी मिलेर सभ्य समाज निर्माण योगदान पु¥याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुले प्रहरीले प्रदान गर्ने सेवा जनता मैत्री हुनु पर्ने बताएका थिए । कार्यक्रममा सहभागिहरुले प्रहरीले शान्तिसुरक्षामा बिशेष ध्यान दिनुपर्ने, राजमार्ग क्षेत्र र समुदायमा प्रहरीको उपस्थिती बढाउनुपर्ने, हेटौंडा–९ स्थित गुम्बा चोक र ईप्रका पशुपतिनगरको क्षेत्रभीत्र पर्ने स्थानमा प्रहरी निगरानी बढाउनुपर्ने, पार्किङ व्यवस्थित गर्नुपर्ने, विद्यालय वरिपरि मादक पदार्थ तथा धुम्रपान, मध्यपान लगायतका सामग्री बिक्रि वितरणमा निगरानी गर्नुपर्ने, सडक दुर्घटना, लागु पदार्थ ओसारपसारलगायत कुरामा विशेष निगरानी बढाउनुपर्ने सुझाब दिनुभएको थियो ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शन्तिपूर्ण एवम् सुरक्षित समाज निर्माण गर्न सहयोग पुग्ने तथा योजना निर्माण गर्ने उदेश्य साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले सहभागिबाट उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रहरी कहिले पनि आफ्नो काम कर्तव्यबाट नचुक्ने बताउनुभयो । उहाँले प्रहरी सधैं समुदाय प्रति जिम्मेबार रहेको भन्दै प्रहरीबाट त्यस्ता खाले कुनै कृयाकलाप भएका सम्पर्क गर्न आग्रह समेत गर्नुभयो । उहाँले अपराध गर्नेलाई कुनै पनि हालतमा कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा इप्रका पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक साैरभ छिरिङ तामाङले कार्यक्रमका बारेमा प्रकाश पार्नुका साथै इप्रका पशुपतिनगरबाट भएका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

सामुदायिक सेवा केन्द्र, मकवानपुरका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, ८ नम्बर वडाअध्यक्ष गोपाल बहादुर श्रेष्ठ, १२ नम्बर वडाअध्यक्ष ललित घलानलगायत स्थानीय राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, सामाजिक अभियन्ताहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मी लगायतको सहभागिता थियो ।