file photo

मकपानपुर – मकवानपुर प्रहरीले हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ घर भई हेटौंडा– १० बासुदेवमार्ग स्थित जे.एस. सुनचाँदी पसलका संचालक ४० वर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१० बस्ने ३९ वर्षीय बिनोद लाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौंडा–५ बस्ने ३२ वर्षीय बुद्ध लामा र हेटौंडा–२ बस्ने २७ वर्षीय आदेश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित मकवानपुर रिकभरिङ्ग समुहको हाताभित्रबाट आज (आइतबार) बिहान पक्राउ गरेको हो । आईतबार बिहान ९ बजेको समयमा बिश्कर्मालाई बा २० च ८९६० नम्बरको सेतो कारमा आएका ४/५ जना अपरिचित व्यक्तिहरुको समूहले अपहरण गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हेटौंडा– ५ स्थित मकवानपुर रिकभरिङ्ग समुहको कार्यालय अगाडी उक्त कार फेला पारी अपहरण गर्ने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । अपहरित बिश्वकर्मालाई सकुशल उद्दार गरी पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।