काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले आज एक विज्ञप्ति मार्फत त्यस्ता विषयमा छूट नदिइने र सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यबाट प्राप्त आम्दानीको लगानीमा छूट प्राप्त नहुने ब्यहोरा स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यले आज एक विज्ञप्ति मार्फत नेपाल सरकार अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य निवारण गर्न र भ्रष्टाचार निवारण सम्बन्धी राष्ट्रिय कानून एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयकमा राष्ट्रिय महत्त्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा विसं २०८० साल चैत्र मसान्तसम्म गरिने लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्थाको बारेमा व्यक्त भएको सार्वजनिक प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको समेत स्पष्ट पारेको छ । आर्थिक विधेयक २०७८ बाट आयकर ऐन २०५८ को दफा ११ ग, थप गरी त्यस्तो व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।