काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विनियोजन विधेयक–२०७८ लाई बैठकको बहुमतले पारित गरेको हो ।
वियोजन विधेयक–२०७८ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलका लागि समय तोकिएको भए पनि प्रेम सुवाल बाहेक अन्य कुनै पनि सांसदले छलफलमा भाग लिनु भएन । बैठकमा सांसद प्रेम सुवालले “विनियोजन विधेयक–२०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव गर्नु भएको थियो । उक्त खर्च कटौतीको प्रस्तावहरूलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
विनियोजन विधेयक–२०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत आएको बजेटमा सामान्य हेरफेर गरी विनियोजन विधेयक ल्याइएको जानकारी दिनुभयो ।अर्थ मन्त्री शर्माले बजेटको आकार घटाई यथार्थपरक बनाइएको पनि जानकारी दिनुभयो । उहाँले संयुक्त सरकारका साझा कार्यक्रम कार्यान्वयन र सरकारका प्राथमिकताका विषय कार्यान्वयन गर्न प्रतिस्थापन विधेयक ल्याइएको पनि बताउनुभयो । सामाजिक सुरक्षाको दायरा बढाइएको पनि अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । अर्थमन्त्री शर्माले निःशुल्क स्वास्थ्य उपचार पाउने नागरिकको मौलिक हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै प्रदेशमा एक हजार बेडका अस्पताल स्थापना गरी त्यहाँ सबै खलका उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी पनि अर्थ मन्त्री शर्माले दिनुभयो ।
प्रदेश र स्थानीय तहका अस्पताललाई व्यवस्थित गरी आवश्यक साधन स्रोत र विशेषज्ञ उपलब्ध गरिने विषयलाई प्राथमिकतामा राखिएको पनि बताउनुभयो । यसैबीच बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक विधेयक, २०७८ र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नु भएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते बिहीबार दिउसो २ः०० बजे बस्ने छ ।