file photo

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागु हुने जनाएको छ । आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता लागु भएको जानकारी दिएको हो ।
आयोगले नेपाल राजपत्रमा आचारसंहिता सम्बन्धी सूचना प्रकाशित गरी राजनैतिक दलका प्रतिनिधिहरू, निजी क्षेत्र, गैह्र सरकारी संस्थालगायत सबै सरोकारवालाहरूसँग छलफल गरी लागु गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अधिकृतको कार्यालय स्थापना भई कार्यभार ग्रहण नगरेसम्म आचार संहिताको पालना भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी लाई दिइएको र सदस्य सचिवको काम जिल्ला निर्वाचन अधिकृतले गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो ।
निर्वाचन आचार संहिताले राजनैतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, टिसर्ट टोपी लगायतका कुनै पनि पहिरन वा स्टिकर, लोगो झोला जस्ता सामग्रीको उत्पादन, वितरण तथा प्रदर्शन गर्न निषेध गरेको छ । राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसारका लागि तीन सय वर्ग इन्च सम्मको आकार र ७५ ग्राम सम्मको कागजमा एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ९ वर्ग फिट सम्मको झन्डा र सोही नामको चुनाव चिन्ह राख्न सक्ने निर्वाचन आयोगले जनाएको छ । यस्तै, निर्वाचनका क्रममा सामाजिक सञ्चालकको दुरुपयोग हुनसक्ने तर्फ आयोगले विशेष ध्यान दिएको र उम्मेदवार वा राजनैतिक दलले आफ्नो आधिकारिक पेजबाट मात्रै आफ्ना विचार तथा धारणहरू सार्वजनिक गर्नुपर्ने व्यवस्था आचारसंहितामा राखिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

याँहाबाट डाउनलाेड गर्नुहाेस ।