मकवानपुर – भुमि सम्बन्धी समस्या समाधान आयोगको खारेजीको बिरुद्धमा आइतबार हेटौंडामा बिरोध प्रदर्शन गरिएको छ । किसानहरुको प्रतिनिधित्व गर्दे आएको अखिल नेपाल किसान महासंघले भूमिहिन, सुकुम्बासीलाई जग्गा दे, सम्पूर्ण शोषित पिडित किसानहरु एक हौं, विघटित आयोगलाई पुनर्वहाली गर, भूमिहिन सुकुम्बासीलाई पुर्जा वितरण गर, अव्यवस्थति बसोबासीलाई व्यवस्थित गर लगायतको नारा लगाएर बिरोध गरेका हुन् ।

विरोध सभामा अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु डंगाेलले सरकारले आयोग खारेजीको निर्णय फिर्ता नलिए शसक्त आन्दोलन गर्ने बताउनुभयो । भूमिहिन, सुकुम्बासीलाई जग्गाको पुर्जा वितरण गर्न आयोग पुनर्वहाली गर्नुपर्ने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा मात्रै हालसम्म ४० हजार भूमिहिन तथा सुकुम्बासीहरुको लगत संकलन भएर काम अगाडी बढेको अवस्थामा राजनैतिक खिचातानीका कारण आयोग नै खारेज गरेर अहिलेको सरकारले नागरिकको हक माथि लात हानेको उहाँको भनाई थियो ।
अखिल नेपाल किसान महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य सम्राट तुम्बाहाम्फेले असोजसम्म १५ हजारलाई लालपूर्जा बाड्ने तयारी अवस्थामा रहँदा सरकारले आयोग खारेजी गरेको बताउनुभयो । विगतमा धेरै सरकार बनेपनि ओलि सरकारले गम्भिरताको साथ लिएर लालपूर्जा बाड्न आयोग गठन गरेको थियो । देशैभर ११ लाख बढी सुकुम्बासीको लगत संकलन भएको भन्दै आयोग खारेजी गर्नु विकल्प नभएको बताउनुभयो । उहाँले आयोग खारेजीमा किसान महासंघले विभिन्न चरणको आन्दोलन गर्ने र पुनर्वहाली गर्न चर्को दबाब सिर्जना गर्ने बताउनुभयो ।