कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । स्वास्थ्य सेवा विभागका अनुसार गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई आजदेखि दोस्रो डोज दिइने छ । जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरूले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान सरकारको आग्रह गरेको छ ।
यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । भुटानले पठाएको ३ लाख खोप आज आइपुगेको छ भने पर्सिसम्म जापानले पठाएको खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ ।