काठमाडौँ । सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरू परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान सिंह गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यसअघि गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथप्रसाद साह प्रदेश प्रमुख हुनुहुन्थ्यो । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो भने गुरुङ नेपाली कांग्रेस चितवनका पूर्व सभापति हुनुहुन्थ्यो ।
यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ । यस्तै, बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताउनुभयो ।