मकवानपुर – मकवानपुर जिल्लाको छैठौंैं जिल्ला सभा आगामी साउन ३१ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको शुक्रबार बसेको ७९औं बोर्ड बैठकले छैठौं जिल्लासभा आगामी साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले आगामी साउन ३१ गते जिल्ला सभा आयोजना गर्ने निर्णय गर्दै जिल्ला सभाको तयारीको जिम्मा कार्यालयलाई दिने निर्णय समेत गरेको छ । साउन ३१ ग्ते बिहान १० बजेबाट जिल्ला सभा आयोजना गर्ने गरी तयारी गर्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । जिससको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला सभा आयोजना गर्न लागिएको प्रमुख खुलालले बताउनुभयो ।
नेपालको संविधान २०७२ को धारा २२० को उपधारा (७) मा उल्लेखित काम कर्तव्य र अधिकार अनुसार जिल्ला सभा गर्ने प्रवधान रहेको र सोहि अनुसार जिल्ला सभा आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभामा जिल्ला समन्वय समिति मकवानपुरको नीति कार्यक्रम तथा जिससको चालु आर्थिक वर्षको बजेट पारित गरिने उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, चित्रबहादुर बलामी, बुद्धिबहादुर मुक्तान, गणेशकुमारी श्रेष्ठ, सरिता विश्वकर्मालगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती थियो ।