मकवानपुर – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुस्पलाल श्रेष्ठको ४३औ स्मृति दिवस आज हेटौंडामा मनाइएको छ । नेकपा एमाले मकवानपुरको आयोजनामा स्मृति दिवसको अवसर पारेर श्रेष्ठको शालिक अनावरण गरिएको छ । हेटौंडा–५ स्थित पुस्पलाल पार्कमा स्थापना गरिएको शालिकको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अनावरण गर्नुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले पुष्पलालको विचार र सिद्वान्त विपरीत अहिलेको राजनीति रहेको बताउनुहुँदै पुष्पलालको सिद्वान्त र विचारलाई अंगालेर एकजुटका साथ अघि बढ्न आग्रह गर्नुभयो । आफ्नै पार्टीभित्रका कम्युनिष्ट भनाउँदाले आफ्नो घर खरानी बनाएर अरुको घरमा आगो बाल्ने काम गरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झार्ने काम भएकोमा दुख व्यक्त गर्नुभयो ।
विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएका नेपाली क्रान्तिका सिद्वान्तकार पुष्पलाल श्रेष्ठले नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो । विसं १९८१ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल, एमाले बागमती प्रदेशका संगठन विभाका प्रमुख अनन्त पौडेल, नेकपा बागमती प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा माओबादी मकवानपुरका नेता कमानसिह पाख्रिन, राप्रपा मकवानपुरका गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।