काठमाडौँ – विश्व खेलकुदको कुम्भमेला ३२ औँ संस्करण गृष्मकालीन ओलम्पिक शुक्रवारदेखि जापानमा सुरु भएको छ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष पछि सारिएको थियो । यस पटक विश्व नै कोभिडसँग जुधिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार, जापान ओलम्पिक कमिटीले बन्द रङ्गशालामै ओलम्पिक गर्ने निर्णय गरेको हो ।
टोकियो ओलम्पिक बन्द रङ्गशालामा हुनेछ । ओलम्पिकका लागि खेलाडी तथा अफिसियलहरुलाई अनिवार्य कोभिडको प्रोटोकल लगाइएको छ । खेलाडी तथा अफिसियल खेल हुने स्थल र ओलम्पिक भिलेजमा मात्रै रहनुपर्नेछ । टोकियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रवार भए पनि सामूहिक खेल फुटबल लगायतका खेलहरू २१ जुलाईदेखि नै सुरु भइसकेको छ । आयोजक जापानले उद्घाटन समारोहलाई सामान्य रुपमा नै अघि बढाउने निर्णय गरेको छ । यस पटकको टोकियो ओलम्पिकमा विश्वका २०४ भन्दा बढी राष्ट्रका ११ हजार २ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउँदै छन् । उनीहरूले ३३ खेलमा ३३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् ।
नेपालबाट चार खेलमा ५ खेलाडीले टोकियो ओलम्पिकमा सहभागिता जनाउँदै छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छन् । गौरिकाले महिला १०० मिटर फ्री स्टाइलमा तथा एलेक्सले पुरुष १०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सोनियाले ४८ केजीमुनि खेल्नेछिन् । कल्पनाले १० मिटर एयर राइफल्समा तथा सरस्वतीले १०० मिटर दौडमा नेपालको चुनौती पेस गर्नेछिन् ।
युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । नेपालका दुई खेलाडीले शनिबार प्रतिस्पर्धा गर्दै छन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेस गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौल समूहको खेल बिहान ७ः४५ बजेदेखि सुरु हुनेछ । ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ ।