मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा जिल्लाका स्थानीय तहहरुको चालु आर्थिक वर्षका आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने क्रममा आईतबार उपमहानगरपालिकाको अनुगमन गरिएको हो ।
प्रमुख खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईलगायतसंग चालु आर्थिक वर्षमा सम्पादित योजनाका बारेमा जानकारी लिईएको थियो । सो क्रममा प्रमुख खुलालले स्थानीय तहमा निर्वाचित भएको ४ वर्ष वितिसकेको अवस्थामा सन्तुष्ट हुने कामका बारेमा उहाँहरुसंग जानकारी समेत लिनुभएको थियो । उहाँले चार वर्षमा गरेका कामहरु मध्ये सन्तोषजनक र गर्न नसकेको कामका बारेमा जानकारी लिनुभएको थियो ।
अनुगमन टोलीलाई मेयर महतले नेपालमा विद्यमान झन्झटिलो कानुनी प्रकृयाका कारण सोचे अनुसार काम गर्न अप्ठ्यारो रहेको बताउनुभयो । प्रचलित कानुनका कारण सोँचे अनुसार काम गर्न जटिलता उत्पन्न हुँदा सोचे जती र सन्तोषजनक काम गर्न नसकिएको बताउनुभयो । यसका बाबजुद पनि पुर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुदलगायत सामाजिक क्षेत्रमा जनताको माग अनुसार कामहरु भएको बताउनुभयो । उहाँले सडक पूर्वाधार, कर्रा करिडोर, बस टर्मिनल, बहुउदेश्य भवन, हेटौंडा अस्पतालमा अक्सिजन पलान्ट, डाईलासिस सेवा, टोनी हेगन पार्क निर्माणलगायत खेलकुदका क्षेत्रमा समेत देखिने र जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरि काम भएको बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत चौलागाईले उपमहानगरपालिकाको चालु आर्थिक वर्षका योजनाहरु सबै सम्पन्न भएको जानकारी दिनुभयो । कोभिडका कारण सामाजिक क्षेत्रका तालिम गोष्ठिलगायतका केहि कार्यक्रम बाहेक सबै योजनाहरु सम्पन्न भएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गौरवका र महत्वपूर्ण योजना समेत सुरुवात गरेको बताउनुभयो ।
अनुगमनका क्रममा प्रमुख खुलालले स्थानीय तहहरुमा धेरै कामहरु भएको बताउनुहुँदै भएका कामको प्रभावकारीताका विषयमा विश्लेषण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भएका कामको व्यवस्थित अभिलेखिकरणमा समेत ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । विकासका नाममा कतै विनास त गर्दै छैनौं भन्ने कुराको विश्लेषण हुन जरुरी रहेको उहाँको भनाई थियो । अनुगमन टोलीले हेटौंडा–१० स्थित करीब ३४ लाखको लागतमा निर्माण भईरहेको बस टर्मिनलको स्थलगत निरिक्षण समेत गरेको थियो । टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।

















