file photo

चितवन – अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको हो । पहिरोले चार वटा सवारी पनि पुरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।
बिहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदो माटो झर्दा काठमाडौंबाट गएका सवारीहरू मुग्लिनमा र पूर्व तथा पश्चिमबाट काठमाडौं आउन लागेका सवारी साधनहरू नारायणगढमै रोकिएका छन् । राजमार्गमा मालवाहक तथा यात्रुवाहक सवारीको लामो लाइन लागेको छ । निरन्तर वर्षा भइरहेकाले राजमार्गमा पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठुलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठुलो पहिरो झरेको छ । चितवनको इच्छा कामना गाउँपालिका–५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका–२९ को सेती दोभानमा ठुलो पहिरो खसेको छ ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अवरुद्ध भएको छ । धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका–६ परेवाटारमा पनि ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।