मकवानपुर – मकवानपुरका स्थानीय तहहरुद्धारा स्थापना गर्ने तयारी गरिएको “स्थानीय तह सरुवा रोग अस्पताल” स्थापनाका लागि जिल्लाका सरकारी निकायहरुले पूर्ण सहयोगको प्रतिबद्धता जनाएका छन् । शुक्रबार अस्पताल स्थापनाका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुखहरुसंगको छलफल तथा परामर्शका क्रममा उहाँहरुले पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।
![](https://sajhasandesh.com/wp-content/uploads/2021/07/j1-1024x472.jpg)
अस्पताल स्थापनाका लागि गठित छलफल तथा परामर्श समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा उक्त विषयमा छलफल भएको थियो । सो अवसरमा प्रमुख खुलालले मकवानपुरका स्थानीय तहहरुले सरुवा रोग अस्पताल सञ्चालन गर्न चाहेको र यो विषयमा विभिन्न चरणमा छलफल तथा परामर्श भईरहेको जानकारी गराउनुभएको थियो । उहाँले हालसम्म भएका कार्यप्रगतिका बारेमा छलफलमा सहभागि कार्यालय प्रमुखहरुलाई बताउनुहुँदै सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।
![](https://sajhasandesh.com/wp-content/uploads/2021/07/j2-1024x473.jpg)
छलफलमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरुवा रोग अस्पताल मकवानपुरका लागि उपयुक्त हुने भन्दै यसको सम्पूर्ण विवरण तयार गरि योजनाबद्ध रुपमा लाग्न सुझाव दिनुभयाे । उहाँले दीर्घकालिन रुपमा अगाडी बढ्ने गरि योजना बनाएर अगाडी बढ्नु पर्ने सुझाव समेत दिनुहुँदै अस्पताल सञ्चालनका सन्दर्भमा बन क्षेत्र, आरक्षण क्षेत्र वा अन्य कुनै सार्वजनीक क्षेत्र उपयोग गर्नुपर्ने अथवा अन्य कुनै पनि कुराकाे पूर्ण सहयोग रहेने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै डिभिजन वन कार्यालय हेटौंडा र राप्तीका प्रमुखहरु ईमनाथ पौड्याल र दीर्घनारायण कोईरालाले सकेसम्म बन क्षेत्र भन्दा बाहीर सार्वजनीक जग्गा खोज्न आग्रह गर्दै बन क्षेत्रमै अस्पताल बनाउनु पर्ने भएमा पनि पूर्ण सहयोगकाे प्रतिबद्दता व्यक्त गर्नुभयाे ।
छलफलमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौर, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्य देवराज रिमाल, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिथिलेश महतो, जिससका शाखा अधिकृत भीमलाल महर्जनलगायतको सहभागिता थियो ।