मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य सानोकान्छी स्याङ्तानको निधनप्रति जिसस मकवानपुरले शोक व्यक्त गरेको छ । सदस्य स्याङतानको निधनप्रति जिसस प्रमुख रघुनाथ खुलालले आज एक वक्तव्य जारी गर्दै शोक व्यक्त गर्नुभएको हो ।
प्रमुख खुलालले ईमान्दार एवम् निष्ठावान सदस्य सानोकन्छि स्याङ्तानको आज बिहान ५८ वर्षको उमेरमा राक्सिराङ गाउँपलिका वडा नम्बर–३, झिल्किने स्थित आफ्नै निवासमा असामयिक निधन भएको प्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । मकवानपुरको बिकट राक्सिराङ गाउँपलिकाका क्षेत्रमा अत्यन्तै लोकप्रिय, स्थापित अगुवा, नेकपा एमालेको कर्मठ नेतृका रुपमा नेतृत्वदायी भूमिकामा रहनुभएकी स्याङतानको असामयिक निधनले सिङ्गो जिल्ला समन्वय समिति परिवार स्तव्ध भएको उहाँले उल्लेख गर्नुभएको छ । प्रमुख खुलालले यस दुःखको घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसंतप्त परिवारजन एवम् आफन्तजनप्रति धैर्यधारण गर्ने शक्ति पैदा होस् भन्ने कामना गर्नुभएको छ ।
कोभिड–१९ बाट संक्रमित हुनुभएपछि राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइ रहनु भएकी स्याङ्तानको स्वास्थ्यमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै उहाँलाई थप उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोभिड–१९ संक्रमणमुक्त हुनुभएपनि निमोनिया तथा दमसम्बन्धी स्वास्थ्य समस्या भएकोले उहाँ गम्भीर रुपमा प्रभावित हुनुभएको थियो । स्वास्थ्य असामान्य हुँदै गएपछि २०७८ साल असार १२ गते अस्पतालबाट डिस्चार्ज भई आफ्नै निवास ल्याईएको स्याङतानको असार १३ गते बिहान निधन भएकोे उहाँले बताउनुभयो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमान हुनुहुन्छ ।