हेटाैंडा– नेपाल कम्युनिष्ट पाट्री (एमाले) का नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएकाे अविश्वासको प्रस्ताव फिर्ता लिएका छन । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका सांसदले दर्ता गराएका अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।
फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको प्रदेश सभा सदस्य अरुण नेपालले जानकारी दिनुभयो । तत्कालीन नेकपाले अविश्वासको प्रस्ताव राखेकोमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएकाले प्रस्ताव फिर्ता लिनुपरेको उहाँको भनाई छ । प्रदेश सभा सदस्य अरुण नेपालसहित माधव नेपाल पक्षका सबै एमाले सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।
खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यसअघि गत पुस १० गते एमालेको खनाल–नेपाल समूहका २२ सांसद र माओवादी केन्द्रका २३ जना सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । माओवादी र एमालेका खनाल–नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । बागमती सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ । एमाले एक्लैसँग बागमती प्रदेशमा ५७ सांसद रहेका छन् ।