मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले जननेता मदन भण्डारीको ७०औं मदन जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर भव्य रुपमा मनाउने निर्णय गरेको छ । आईतबार मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले असार १४ गते अर्थात (भोली) मदन भण्डारीको ७०औ जन्म जयन्ती विभिन्न कार्यक्रमहरुका साथ मनाउने निर्णय गरेको हो ।

मदन जयन्तीका अवसरमा फाउन्डेशन भोली हेटौंडा–११, शहिद स्मारक स्थित मदन भण्डारीको शालिकमा माल्यापर्णसहित श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय भएको अध्यक्ष खुलालले बताउनुभयो । त्यसैगरी हेटौंडा–९ स्थित दिव्य बाल उद्यानमा स्थापना गरिएको मदन–आश्रृतको अर्ध कदको शालिक अनावरण गर्ने तथा बाल उद्यानमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै बैठकले फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । र भोली हेटौंडा–११, शहिद स्मार स्थित कार्यक्रममा त्यसको घोषणा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस बाहेक पनि भोली मदन जयन्तीका अवसरमा मकवानपुरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मदन भण्डारी स्पोर्टस एकडेमीले विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । मदन जयन्तीका अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालमा डाइलसिस सेवा तथा प्रतिष्ठानले यसै वर्षबाट सञ्चालन गर्न लागेको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो । यस्तै भोली मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस एकडेमी मकवानपुरले पनि सरसफाई तथा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयो । बैठकमा मदन भण्डारी फाउण्डेशनका प्रदेश सदस्य एवम् बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, फाउण्डेशनका प्रदेश सदस्य एवम् नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, फाउण्डेशनका सचिव आशाकाजी श्रेष्ठ, सहसचिव बोलबहादुर कार्की, प्रदेश युवा परिषदका कार्यवाहक उपाध्यक्ष संतोष चौलागाई, फाउण्डेशनका सदस्यहरु उत्तम शर्मा न्यौपाने, कमल विश्वकर्मा, शिवहरी दाहाललगायतको उपस्थिती रहेकाे थियाे ।