मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट सार्वजनीक गरेको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईको सभाध्याक्षतामा भएको सातौं गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाको आदेशमा वडा अध्यक्ष टिका प्रसाद दाहालले आर्थिक वर्ष २०७८ ७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले कृषि, पर्यटन र युवा लक्षित कार्यक्रमलाई बढी प्राथमिकतामा दिनुका साथै पुराना योजनालाई समेत प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि संघीय सरकार र प्रदेश सरकारको गरी वित्तिय समानिकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त जनाएको छ । त्यस्तै संघीय सरकार राजश्व बाँडफाँडका विभिन्न शीर्षकबाट १७ करोड ५५ लाख ५० हजार ५ सय, अन्तरिक स्रोत तर्फ ८८ लाख, संघीय सरकारको सर्शत अनुदानका विभिन्न शीर्षकमा गरी २२ करोड ४७ लाख र संघीय र प्रदेशको समपुरक बजेट ३ करोड ९३ लाख र संघीय सरकारको विशेष अनुदानको रुपमा ६ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । गाउँसभाको अर्को बैठक असार २६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष विदुर हुमागाईले बताए ।