सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ । शनिबार काठमाडौंमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधि एवं सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा, कृष्ण ढुंगाना लगायत सहभागि भएर गरिएको छलफलले समिति गठन गरेको हो ।
समितिले सिन्धुपाल्चोकमा बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ । ‘तत्काललाई राहत भन्दा पनि दीर्घकालिनरुपमा व्यवस्थापनका लागि समिति गठन गरिएको हो’ अभिनेता मल्लले भने, ‘घर बगाएकाका परिवारहरु अहिले अहिले अन्यन्त्र आश्रय लिएर बसिरहेका छन् । उनीहरुलाई दीर्घकालिन घरको आवश्यकता छ । घरको पुननिर्माण, त्यस्तै पुल र विद्यालयको पुननिर्माण लगायतका लागि हामी कलाकारहरुले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना फ्यानहरुलाई सहयोगको आह्वान गर्छौ ।’ थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने अभिनेता मल्लले बताए । कलाकार संघ, प्राविधिक संघ, निर्माता संघ, सांगीतिक संघ लगायतका संघसंस्था लगायत अन्य कलाकारहरुलाई पनि समेटदै लैजाने बताए ।