हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ ।
यस्तै, २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।