मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका स्थित विकट भोर्लेनीका नागरिक हावाबाट बिजुली बाल्न पाउँदा मख्ख परेका थिए । विकट स्थानका नागरिकले २४ सै घण्टा बिजुली बाल्न पाउँदा स्थानीयमा आएको त्यो खुसि भने धेरै दिन टिक्न सकेन । घर नै उडाउलाजस्तो गरी वहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल हुँनुका साथै विद्युतीकरणले स्थानीयवासीको जीवनशैली समेत फेरिएको थियो ।

२०७२ सालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजनाले स्थानीयलाई धेरै दिन सम्म खुसि राख्न भने सकेन । प्राविधिककै अभाबमा अहिले सो परियोजना बन्द छ । स्थानीय तह आए पछि मर्मत गर्न खोजिए पनि प्राविधिककै अभावमा मर्मत गर्न नसकिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनुभयो ।“हामीले गाउँपालिकाबाट बजेटको व्यवस्था गरेर मर्मत गर्ने प्रयास ग¥यौ, तर प्राविधिक नपाउँदा हुन सकेन” उहाँले भन्नुभयो ।

काभे्रपलाञ्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको बागमती नदीको किनारमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा वायु र सौर्य शक्तिबाट २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजना निर्माण गरिएको थियो । केन्द्रले ८९ लाख, तत्कालिन जिविसले पाँच लाख र गाविसले दुई लाख तथा समुदायबाट ३० लाख बराबरको नगद र श्रमदान गरी कूल एक करोड २५ लाखको लागतमा निर्माण भएको उक्त परियोजना करीब तीन वर्ष देखि बन्द छ । पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत्त् यहाँका १३१ घरपरिवारमा वितरण गरिएको छ । परियोजनाबाट उत्पादित विद्युत््लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा सङ्कलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको थियो ।

२०७४ सालसम्म बिजुली बलेको भएपनि त्यसपछि प्राविधिक रुपमा केहि खराबि आए पछि उक्त परियोजना बन्द भएको हो । स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतको उपयोग गरी जनतालाई ऊर्जामा आत्मनिर्भर गराउन यस्ता वैकल्पिकऊर्जा प्रविधिको विकास र विस्तारमा लाग्नुपर्ने खाँचो रहेको बेला पविधिककै अभावमा त्यो सम्भव हुन सकेको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने भन्नुहुँदा खिस्सि उडाउनेहरुका लागि पनि उक्त परियोजना उदाहरणिय छ । तर बिगत तीन वर्ष देखि परियोजना बन्द हुँदा राज्यको निती र स्थानीयको खुसि निराशामा बदलिएकाे छ । परियाेजनाकाे जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन गर्दै यसलाइ सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ ।