मकवानपुर– बागमती प्रदेश सभाको आठौँ अर्थात (बजेट) अधिवेशन बैठक अर्को सुचना नभएसम्मको लागि स्थगित भएको छ । आज बसेको दोस्रो बैठकमा उपसभामुख राधिका तामाङ्ले बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०७८/०७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) को छलफल सकिएसंगै अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको थियो । भने सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उठेका प्रश्नहरुको जवाफ समेत दिनुभएको थियो । उहाँले आउँदो बजेट कोभिड केन्द्रित, स्वास्थ्य, शिक्षा, रोजगार र विकासलाई प्राथमिक्ता दिईएको बताउनुभयो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा १४ जना सांसदहरुले भाग आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यस अघि अजै बसेको पहिलो बैठकमा दलका नेताहरू मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेल, एमाले नेतृ अष्टलक्ष्मी शाक्य, कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया, नेमकिपा नेता सुरेन्द्र राज गोसाई र राप्रपाकी रीना गुरुङले बजेट अधिवेशनकाे शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, प्रदेश लोकसेवा आयोग र प्रदेश मुख्यन्यायाधिवक्ता कार्यालयको २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गर्नुका साथै प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख रुपैया सहयोग रकम लिने निर्णय भएको जानकारी दिनुभएको थियो । भने, प्रदेश सार्वजनिक लेखा समितिको ०७६/७७ को वार्षिक प्रतिवेदन समितिका सभापति न्यूक्षेनायराण श्रेष्ठले सभामा पेस गर्नुभएको थियो ।