मकवानपुर– मकवानपुरका सबै स्थानीय तहहरुले अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि जिल्लाको सबै स्थानीय तहहरुले १० देखि ३० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएका हुन् ।
दोस्रो लहरमा कोरोना संक्रमित दिनानुदिन बढ्दै गएपछि जिल्लाका सबै स्थानीय तहहरुले कोरोना विशेष अस्पताल देखि अक्सिजनसहितको आइसोलेसन सञ्चालमा ल्याएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । जिल्लाको हेटौंडा उपमहानगरले १२० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यस्तै थाहा नगरपालिकाले २० बेड, मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाले क्रमश ३०, २६ र १० बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । त्यस्तै बागमती, बकैया, कैलाश र ईन्द्रसरोवर गाउँपालिकाले १०÷१० बेडको र भीमफेदी गाउँपालिकाले २५ बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । यस बाहेक मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पताल तथा निजि अस्पतालहरु चुरेहिल र सहकारी अस्पतालमा समेत भेन्टिलेटरसहितको कोरोना संक्रमितको उपचारको व्यवस्था रहेको उहाँले बताउनुभयो ।